निर्मल घिमिरे, काठमाडौं, असार २६– चोरी र लुटपाटविरुद्ध सामूहिक रूपले लाग्न राजधानीका टोलहरूमा ‘साइरन प्रविधि’ विस्तार हुन थालेको छ। दिउँसै लुटपाट बढेका बेला यस्तो उपाय अपनाउँदा सुरक्षित महसुस गरेको टोलबासी सुनाउँछन्। सामाखुसी प्रयासनगरमा तीन महिनाअघि स्थानीय हर्ष बज्राचार्यलाई सुतिरहेका बेला एक समूहले सांघातिक आक्रमण गरी लुटपाट गरेपछि टोलवासीले यस्तो उपाय अपनाएका हुन्। साइरन जडान गरिएको साढे दुई महिनायता एउटा पनि चोरी वा लुटपाटको घटना नभएको टोलवासी सुनाउँछन्।

स्थानीयले उपभोक्ता समिति नै गठन गरी यो योजना अघि बढाएका हुन्। यसरी गठित ‘नमूना उपभोक्ता समाज’का सदस्यले टोलमा जुनसुकै घरबाट आएको संकेतका आधारमा साइरन बज्नेबित्तिकै लुटेरालाई पक्राउ गरी प्रहरीमा बुझाउने नियम बसालेका छन्।

समाजमा सामाखुसी, गोगंबु-७ र धापासी -८ का १ सय ५० सदस्यका घर समेटिएका छन्। ‘कुनै पनि सदस्यले साइरन बजाउनेबित्तिकै सबै उपभोक्ता अनिवार्य रूपले घटनास्थल पुग्नैपर्ने नियम राखेका छौं,’ समितिका अध्यक्ष सूर्यनाथ कोइराला भन्छन्, ‘दिन-रात नभनेर एकजुट भएपछि चोरी तथा लुटपाट गर्नेको मनोबलै रहँदैन।’

जडान गरिएको साइरन बजाउन प्रत्येक घरमा दुइटा टेलिफोन नम्बरलाई यो प्रविधिअन्तर्गत सेट गरिएको छ। त्यसरी दर्ता गरिएको जुनसुकै नम्बरबाट फोन गर्नेबित्तिकै साइरन बज्न थाल्छ। साइरन बज्नासाथ प्रत्येक सदस्यको मोबाइलमा एसएमएस पनि आउन सुरु हुन्छ। 

‘यति भएपछि कसको घरमा समस्या परेको भन्ने सबैले थाहा पाउँछन्,’ अध्यक्ष कोइरालाले भने, ‘यसरी सदस्य बीच विस्तारित सूचनाका आधारमा तत्कालै भिड जुट्छ।’ ‘घरमा सधैं लोग्नेमान्छे हुन्छन् भन्ने छैन, केही परिहाले प्रहरीलाई फोन गर्दा पनि उठाउन वा आइपुग्न ढिला गरिदेलान्,’ गृहिणी सुस्मिता ज्ञवाली भन्छिन्, ‘यस्तो बेला सुरक्षाको यो व्यवस्थाले ढुक्क बनाएको छ।’

बाटो वारिपारि गरी ४-४ वटा साइरन जडान गर्न समितिले प्रत्येक घरधुरीबाट दुई हजार रुपैयाँ उठाएर कोष स्थापना गरेको छ। उठेको रकममध्ये साइरनका निम्ति १ लाख २५ हजार रुपैयाँ परेको र बाँकी पैसा अन्य विकास निर्माणमा लगाइने समितिले जनाएको छ। 

गोंगबु बसपार्कसँग टासिएकाले पनि चोरीका घटना भइरहने सो क्षेत्रमा अहिले चोरी र लुटपाटको चिन्ता हटेको स्थानीय श्रीकानत कोइराला बताउँछन्। यसरी जडान गरिएको साइरन कुनै सदस्यले दुरुपयोग पनि गर्न सक्ने सम्भावना हुन्छ। त्यस्तो अवस्थामा १५ सय रुपैयाँसम्म जरिवाना गर्ने नियम राखिएको छ।

Leave a Comment

Your email address will not be published.

Send a Message